काठमाडौं, ७ असार । बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले बजेट विनियोजन मधेश प्रदेशको हकमा विभेदपूर्ण भएको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्री-मन्त्रीकै बीचमा बजेट विनियोजनको विषयलाई लिएर प्रतिस्पर्धा चल्दा र ठूला नेताले आफ्नो क्षेत्रमा सिङ्गो बजेट परिचालन गर्ने कारण मधेश प्रदेश विभेदमा परेको बताए ।
बजेटका नाममा जनताले गाँस काटेर तिरेको करमाथि गम्भीर दुरुपयोग भएको भन्दै उनले यस्तै रवैया भए २०८४ को निर्वाचनमा जनताले जवाफ दिने जिकिर गरे ।
उनले बजेटको न्यायोचित वितरणको माग गरे । बाराको अमलेखगञ्ज जंगलमा बाघको आक्रमणबाट ज्यान गुमाउने ५० वर्षीय कृष्णबहादुर भोलनको परिवारलाई छिटोभन्दा छिटो क्षतिपूर्ति दिन उनले माग गरे ।