दमाैली, ७ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी अन्तर क्लव टि २० क्रिकेट प्रतियोगितामा चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । नौ वटा टिम सहभागी रहेकामा तीन समूहबाट तीन वटा टिम विजेता बनेर र एक वटा रनरेटका आधारमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
समूह (ए) बाट महालक्ष्मी चार अङ्क सहित सेमिफाइनल प्रवेश गरेको छ । महालक्ष्मीले दुई खेलमा दुवै खेल जितेको थियो । समूह (बी) बाट बैरेनी क्रिकेट क्लव एक जित र एक हारसँगै दुई अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको छ । सो समूहमा रहेको राइवल्स क्रिकेट क्लवले पनि एक जित र एक हारसहित दुई अङ्क प्राप्त गरेपनि रनरेटमा पछि परेको छ ।
समूह (सि) बाट पेलिकन्स क्लव दुई जित सहित चार अङ्कले सेमिफाइनल प्रवेश गरेको छ ।
रनरेटका आधारमा समूह (सि) को दमौली क्रिकेट क्लव सेमिफाइनल प्रवेश गरेको छ । दमौलीले एक जित र एक हार बेहोरेको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो सेमिफाइनल महालक्ष्मी क्रिकेट एकेडेमी र पेलिकन्स क्लवबीच खेल हुने सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए । त्यस्तै दोस्रो सेमिफाइनल खेल बैरेनी क्रिकेट क्लव र दमौली क्रिकेट क्लवबीच हुनेछ ।
असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।