दमाैली, ८ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा पेलिकन्स क्लव र दमौली क्रिकेट क्लव प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाइनलमा महालक्ष्मी क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दै पेलिकन्स क्लव फाइनल प्रवेश गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको महालक्ष्मीले १५ ओभरमा सबै विकेट गुमाउँदै ६३ मात्रै रन बनायो । महालक्ष्मीका तर्फबाट लक्की खड्काले दुई, खड्ग बोहराले सात, आशिक सिग्देलले एक, चन्दन यादवले १९, दीपक बोहराले पाँच, हरिश भट्टले १२, आकाश गुप्ताले तीन, कृष्ण मलासीले एक रन बनाए ।
उक्त खेलमा पेलिकन्सका चन्द्रकान्त पाैडेलले चार, नरेश शाहले तीन, सन्दिप खत्रीले एक र सन्दीप पराजुलीले दुई विकेट लिए ।
जवाफी व्याटिङ गरेको पेलिकन्सले ७.१ ओभरमा तीन विकेट गुमाएर ६५ रन बनायो । पेलिकन्सका तर्फबाट दिपेश अधिकारीले ३८, कृश आयरले १६, समिर कंडेलले एक, सुप्रिम सुनारले सात रन बनाए ।
त्यसक्रममा महालक्ष्मीका लागि खड्क बाेहराले तीन विकेट लिए ।
दोस्रो सेमिफाइनल खेलमा वैरेनी क्रिकेट क्लवलाई हराउँदै दमौली क्रिकेट क्लव फाइनल प्रवेश गरेको छ । दमौलीले वैरेीलाई ११ रनले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको दमौलीले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनायो । दमौलीका लागि इम्रान शषले दश, अर्जुन कुमालले तीन, विनय भण्डारील नौ, आदिल अन्सारीले चार, अमृत गुरुङले आठ, सुवास भण्डारीले १२ र कुशल पण्डितले एक रनको योगदान दिए ।
वैरेनी १६ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । वैरेनीका तर्फबाट आरश तामाङले १५, विश्व कार्कीले १५, सचिन लेखकले पाँच, विवेक यादवले १४, दिवस कुंवरले चार, सुरज श्रेष्ठले सात, मनोज यादवले दुई रन बनाए ।
फाइनल खेल सोमबार दिउँसो हुने तनहुँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिने उनले बताए ।