


दमौली, १५ साउन । लामो समयदेखि पानी नपरेर खेतबारी बॉझो भएपछि व्यास नगरपालिका-७ कोटथोकस्थित क्यामिन कालिका मन्दिरमा रुद्री लगाइने भएको छ । पानी नपरेर खेतीपाती गर्न समस्या भएपछि साउन १८ गते मन्दिर परिसरमा रुद्रीको तयारी गरिएको हो ।
मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष सम्शेरबहादुर कुंवरले पानी माग्दै रुद्री लगाउन लागिएको जानकारी दिए । “यो पालि असार साउनमा पानी पर्नै सकेन, पूजाआजा गरी पानी परोस् भनेर भगवानसँग माग्न लागिएको हो ।”
क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ सम्म वडाको पूजा हुन्छ । पुस र साउन महिना बाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा बडादशैं र चैते दशैंमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्नेछ ।
एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ ।