


दमाैली, २० साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले पहल थालेको छ । ऐनापहरा पार्कको पार्किङस्थलबाट व्याक भएर आइतबार बस दुर्घटना भएपछि निकट भविष्यमा दुर्घटना नहोस् भन्नका लागि कार्यालयले पहल थालेको हो ।
पर्यटकीय स्थल ऐनापहराको पार्किङस्थल सडकभन्दा अग्लो स्थानमा रहेकाले सवारी साधनहरु कतिपय अवस्थामा आफै पछाडि हट्न सक्ने सम्भावना देखिँदा उक्त पार्किङस्थल सडक भन्दा होचो बनाई सम्भावित दुर्घटना न्यून गर्न सम्बन्धित पालिकालाई व्यवस्थापन मिलाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
त्यस्तै ऐनापहरास्थित पार्कका गतिविधिले पृथ्वीराजमार्गको सो खण्ड भइ यात्रा गर्ने सवारी चालकको ध्यान पार्कतर्फ केन्द्रित हुँदा दुर्घटना हुन सक्ने हुँदा सो नियन्त्रण गर्न पालिकालाई आवश्यक प्रबन्ध मिलाउन भनिएकाे प्रजिअ अधिकारीले बताए ।
यस्तै ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक ट्राफिक सङ्केतहरु अद्यावधिक गर्न तथा सडक छेउको कन्फिडेन्स ब्लक मर्मत सम्भार गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको अधिकारीको भनाइ छ । आँबुखैरेनी गाउँपालिकालाई ऐनापहरा पार्क छेउको जमिन सम्याएर सुरक्षित बनाउन निर्देशन दिइएको प्रजिअ अधिकारीले उल्लेख गरे ।
गत आइतबार गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ च १०७७ नम्बरको बस पार्क अगाडी रोकिराख्दा व्याक भएर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । बस व्याक हुँदै गर्दा आठ जना भने हाम फाल्न सफल भएका थिए ।
घटना पश्चात् प्रजिअ अधिकारीको नेतृत्वमा सोमबार जिल्ला सुरक्षा समितिका पदाधिकारी, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतले त्यस ठाउँको स्थलगत अनुगमन गरेका थिए ।