जिल्ला खेलकुद विकास समिति तनहुँले पूर्णता पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्ला खेलकुद विकास समिति तनहुँले पूर्णता पायो

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८२, मंगलवार

    दमाैली, २० साउन । जिल्ला खेलकुद विकास समिति तनहुँले पूर्णता पाएको छ । समितिमा विभिन्न क्षेत्रबाट सदस्य मनोनित गरिएसँगै समितिले पूर्णता पाएको हो ।

    समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार खेलकुद सङ्घबाट तीन जना, सामुदायिक र संस्थागत विद्यालयबाट दुई जना, स्थानीय खेलकुद विकास समितिबाट तीन जना, उद्योगी व्यवसायीबाट एक जना, प्रदेश खेलकुद परिषद् सदस्य सचिवबाट एक जना सदस्य मनोनित गरिएको छ ।

    समितिको सदस्यमा खेलकुद सङ्घतर्फबाट क्रिकेट सङ्घबाट मनोज सुवर्णकार, जिल्ला एथलेटिक्स सङ्घबाट सञ्जित काफ्ले, ह्याण्डबल सङ्घबाट सरस्वती पोख्रेल, विद्यालयतर्फबाट वाराही आवासीय माध्यमिक विद्यालयबाट सन्देशनारायण श्रेष्ठ, सत्यवती माध्यमिक विद्यालयबाट अम्मर थापा नियुक्त भएका छन् ।

    स्थानीय खेलकुद विकास समितिबाट घिरिङका झपेन्द्र गुरुङ, बन्दीपुरका विवेक जोशी, भानुका सोमबहादुर तामाङ, उद्योगी व्यवसायीबाट भानुका कल्याणविक्रम अधिकारी नियुक्त हुनुभएको अध्यक्ष पाण्डेले जानकारी दिए। त्यस्तै प्रदेश खेलकुद परिषद् सदस्य सचिवबाट म्याग्देका दुर्गाराज थापालाई सदस्यमा नियुक्त गरिएको छ ।

    समितिको बैठकले आगामी कात्तिक महिनामा तीन वटा विभागीय र सात वटा प्रदेश टिम सहित राष्ट्रिय भलिबल प्रतियोगिता दमौलीमा आयोजना गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए।

    आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, आयव्यय प्रतिवेदन अनुमोदन गर्नुका साथै बैठकले नवनियुक्त सङ्घीय मामिला तथा प्रशासन मन्त्री भगवती न्यौपानेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

    गण्डकी प्रदेश सरकारमातहत रहेको जिल्ला खेलकुद विकास समिति तनहुँ गठन सम्बन्धमा खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तिमध्येबाट खेलकुद परिषद्को अध्यक्षबाट मनोनित व्यक्ति अध्यक्ष हुने प्रावधान छ । सो बमोजिम पाण्डे दोस्रो कार्यकालका लागि अध्यक्षमा मनाेनित भएका थिए ।