व्यास नगरपालिकाद्वारा तीन कार्यविधि पारित एवं संशोधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाद्वारा तीन कार्यविधि पारित एवं संशोधन

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८२, बिहीबार

    दमौली, २२ साउन । व्यास नगरपालिकाले तीन कार्यविधि पारित एवं संशोधन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले तीन कार्यविधि पारित एवं संशोधन गर्ने निर्णय गरेको हो ।

    विधायन समितिबाट प्रस्तावित व्यास नगरपालिका अन्तर्गतका उच्च शिक्षा एवं विद्यालय शिक्षा लिने विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्रि सम्बन्धी कार्यविधि, २०८२, विपन्न विरामीहरूलाई प्रदान गरिने आर्थिक सहायता नियमित गर्ने सम्बन्धी कार्यविधि, २०८२ र व्यासनगर अन्तर्गतका पारित विभिन्न कार्यविधि संशोधन गर्ने सम्बन्धी व्यास नगरपालिका केही कार्यविधि संशोधन सम्वन्धी कार्यविधि, २०८२ पारित गरिएको छ ।

    व्यास नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको लागि जग्गा प्राप्ति सम्बन्धमा जिल्ला समन्वय समिति मार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    व्यास नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि ४३औं नगरसभावाट पारित नीति तथा वजेट कार्यक्रम रातो किताब मार्फत सरोकारवालाहरूलाई सूचना प्रविधि शाखा मार्फत सार्वजनिकरण गर्ने निर्णय गरिएको छ।

    यस्तै संघीय बजेटबाट नगरपालिकालाई प्राप्त मा.वि. तथा आधारभूत विद्यालयलाई प्रदान गरिने विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक अनुदानको मा.वि. दरवन्दीमा गतवर्ष जुन जुन विद्यालय मापदण्ड अनुसार उपलब्ध गराउने मिल्ने हो सोही विद्यालयमा र आधारभूत दरवन्दीमा गतवर्ष कार्यान्वयन नभएको एक विद्यालयवाट हटाई उक्त एक दरवन्दी व्यासनगर ११ स्थित वसन्त आधारभूत विद्यालयलाई उपलब्ध गराउने र अन्य दरवन्दी यथावत कायम गर्ने निर्णय गरिएको छ ।

    विगतको लामो समयसम्म पनि व्यास नगरपालिकाको सरसफाई व्यवस्थापनका लागि आवश्यक जग्गा खरिदको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल सरकारसँग करिव एक वर्षअघि नै माग गरिएकोमा हालसम्म पनि हुने वा नहुने निर्णय नआएको हुँदा तत्काल निर्णयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने निर्णय गरिएको प्रवक्ता थापाले उल्लेख गरे ।

    गरिवी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनको लागि वडा नम्बर ३ छनोट गर्ने निर्णय गरिएको छ।

    व्यास नगरपालिका अन्तर्गत मातृ मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन सम्बन्धमा उपप्रमुखको अध्यक्षतामा ७ सदस्य समिति गठन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।