बसमा अचेत भेटिएका वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८२, सोमबार

    दमाैली, २६ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ ।

    कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

    उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।