


दमौली, २ भदौ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूहमा) सरुवा भएको छ। व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रत्ननगर नगरपालिका चितवनबाट सुकदेव लम्साल आउने भएका छन्।
यसैगरी शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको गैंडाकोट नगरपालिकामा सरुवा भएको छ। शुक्लागण्डकी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भने पदस्थापन हुन बाँकी छ। शुक्लागण्डकीमा शिशिर पौडेल आउने स्रोतले जनाएको छ ।