


दमौली, २९ भदौ । सेतो गुराँस बाल विकास सेवा तनहुँमा ६१ औं राष्ट्रिय बाल दिवस मनाइएको छ। बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ सार्थक पार्न लायन्स क्लब अफ तनहुँ र लायन्स क्लब अफ तनहुँ सत्यवतीले संयुक्त रुपमा व्यास-२ मा रहेको सेतो गुराँस बाल विकास सेवामा बाल दिवस मनाएको हो।
सम्पूर्ण बालबालिकाको हक अधिकारका लागि आवाज उठाउने दिवस बालदिवसका अवसरमा लायन्स क्लब अफ तनहुँ र लायन्स क्लब अफ तनहु सत्यवतीले सेतो गुराँसमा रहेका बालबालिकाहरूलाई खेल खेलाउँदै बालबालिकाका लागि आवश्यक सामग्रीहरू पुरस्कारका रूपमा वितरण गरेको थियो।
लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष सीता वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा सेतोगुराँस बालविकास सेवा केन्द्र तनहुँकी अध्यक्ष सुशीला शर्माले बाल अधिकारको सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।
बाल अधिकारको संरक्षणका लागि अभिभावकका साथै समुदाय समेत सचेत हुनुपर्ने उनको भनाइ थियो। आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार भएको हुँदा
बालबालिकाविनाको समाज कल्पनासम्म गर्न नसकिने शर्माले बताइन्।
कार्यक्रममा जोन चियर पर्सन पवित्रा खनालले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको अधिकारलाई सुनिश्चित गर्न सकिएन भने राष्ट्रिय बाल दिवसको सार्थकता हुन नसक्ने बताउन् । उक्त कार्यक्रमको सहजीकरण बाल अधिकारको क्षेत्रमा वर्षौंदेखि काम गर्दै आएकी अधिवक्ता एवं लायन्स क्लब अफ तनहुकी अध्यक्ष सरिता थापा भण्डारीले गरेकी थिइन्।