खाजा खर्च बचाएर विद्यार्थीले बाँडे तीन सय जनालाई निःशुल्क कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाजा खर्च बचाएर विद्यार्थीले बाँडे तीन सय जनालाई निःशुल्क कपडा

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    दमाैली, ११ असाेज । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट तीन सय जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका छन् ।

    विद्यालयमा गठित इन्टया¥क्ट क्लवले पूर्व विद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा आज व्यास नगरपालिका–५ पाटन र व्यास नगरपालिका–३ प्रशासनचोकमा गरी तीन सय जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका हुन् । विद्यालयका विद्यार्थीले विगत तीन वर्षदेखि प्रत्येक दसैंको पूर्व सन्ध्यामा निःशुल्क कपडा वितरण गर्ने गरेका छन् ।

    व्यास नगरपालिका–५ पाटनमा एक सय ५० र व्यास नगरपालिका–३ प्रशासनचोकमा एक सय ५० जनालाई निःशुल्क कपडा वितरण गरिएको क्लवका अध्यक्ष निजल आलेले जानकारी दिए । उनले भने “विद्यालयमा गठित क्लवमा रहेका विद्यार्थीले खाजा खर्च कटाएर रकम सङ्कलन गरेका थियौ । सोही रकमबाट विपन्नलाई कपडा वितरण गरेका हौ ।”

    विद्यार्थीले खाजा खर्च कटाएर रु १२ हजार सङ्कलन गरेका थिए । केही सहयोगी दाताहरुले पनि कपडा प्रदान गरेक थिए । दसैंलाई लक्षित गरी विद्यार्थीले अति आवश्यक हुनेलाई कपडा वितरण गर्ने गरेको विद्यालयका वीणा कैनीले जानकारी दिइन् । उनले भनिन्, “विद्यार्थीमा सहयोगको भावना अभिवृद्धि गर्न यो अभियान सञ्चालन गरिएको हो ।”