


काठमाडौं, ११ असाेज । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले चार ओभरभित्रै दुवै ओपनरलाई गुमाएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३.१ ओभरमा दुवै ओपनरलाई गुमाएको हो ।
नेपालले २.१ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफले तीन रन मात्र बनाए ।
खेलको पाँच ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर २० रन बनाएको छ ।
नेपाली टिमले टेस्ट राष्ट्रविरुद्ध खेलिरहेको यो पहिलो टी–२० शृंखला हो । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सोमबार दोस्रो र मंगलबार तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।