


दमाैली, १७ असाेज । जिल्ला प्रशासन कार्यालय तनहुँले वर्षाका कारण हुन सक्ने क्षतिका लागि सतर्कता अपनाउन आग्रह गरेकाे छ । कार्यालयले शुक्रबार सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट असोज १५ गते प्रकाशित सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोही दिन प्रकाशित उच्च सतर्कता सूचना अनुसार गण्डकी प्रदेशमा आजदेखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीद्वारा जारी सूचना अनुसार अत्यावश्यक अवस्थामा बाहेक यात्रामा नजान, रातको समयमा यात्रा नगर्न, गर्नैपर्ने भएमा नजिकको ट्राफिक प्रहरी वा सुरक्षा निकायसँग समन्वय र गन्तव्यका बारेमा जानकारी लिएरमात्र यात्रा गर्न अनुरोध गरिएकाे छ ।
पहिराको जोखिम रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन, नदी तथा खोलाहरुमा पौडी खेल्न नजान, माछा मार्न तथा दाउरा सङ्कलन नगर्न आग्रह गरिएको छ । पहिरा तथा डुबान जोखिम हुन सक्ने बस्तीहरुलाई सुरक्षित क्षेत्र र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा स्थानीय तहद्वारा यसअघि निर्धारित सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
वर्षाका कारण पहिरो गई पृथ्वीराजमार्ग, डुम्रे बेसीशहर सडकखण्डमा अवरोध आएमा तत्कालै परिचालित हुने गरी डोजर, स्काभेटर, लोडर तयारीमा अवस्थामा राखिएको अधिकारीले बताए । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) र (पश्चिम खण्ड), सडक डिभिजन कार्यालय दमौलीको संयोजनमा उपकरणमा तयारी अवस्थामा राखिएको उनले बताए ।