मादी पुलको म्याद सकियो, काम सकिएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी पुलको म्याद सकियो, काम सकिएन

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८२, सोमबार

    दमौली, २० असोज । मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन पुलको म्याद सकिएको छ । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएको हो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म उक्त पुलमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिए । पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते जेडआइष्ट अन्नक जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएकाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ । थप हुने म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।”

    आगामी असार १९ गतेसम्म म्याद थपका लागि सिफारिस भएको र निर्णय हुन बाँकी रहेको पाण्डेले बताए । उनले भने, “पुलको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले थप हुने म्यादमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।”

    छवटा स्पानको उक्त पुल ३१५ मिटर लामो हुनेछ भने पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा लामो ‘आर्क डिजाइन’को उक्त पुल चार लेनको हुनेछ । —