


दमाैली, २१ असाेज । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा असोजको तेस्रो मङ्गलबार आज फूलको डोली भित्र्याउन भक्तजनको भीड लागेको छ । मन्दिरमा फूलको डोली विभिन्न ठाउँबाट भक्तजन आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष जीवन थापाले बिहानैदेखि भक्तजनको आगमन भएको जानकारी दिए । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।
भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ
सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।