


दमौली, २४ असोज । बारा-४ का निवर्तमाव प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले कुटनीतिक राहदानी फिर्ता गरेका छन् । श्रेष्ठले संघीय संसद सचिवालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा फिर्ता गरेका हुन् । जसलाई संघीय संसद सचिवालयलेसमेत प्रमाणित गरिसकेको उनले जानकारी गराएका छन् ।
श्रेष्ठले आफू अहिले सांसद नभएतापनि मधेश र मधेशमा बसोबास गर्ने नागरिकको हक हित र अधिकार संरक्षणका लागि दिलोज्यान लगाएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले थपे, ‘अब देशमा शान्ति, सुव्यवस्था र अमनचयनको वातावरण सिर्जना हुन जरुरी छ । त्यो भनेको नयाँ जनादेशबाट मात्र सम्भव छ । त्यसैले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन शान्त, भयरहित र तोकिएकै समयमा हुनुपर्छ भन्ने मेरो माग छ ।’