


दमाैली, २५ असाेज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकामा दिउँसो १ः४८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो ।