तनहुँमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८२, शनिबार

    दमाैली, २५ असाेज । तनहुँमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार दिउँसो र शुक्रबार राति भएका घटनामा तीन जनाको मृत्यु भएको हो ।

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकामा दिउँसो १ः४८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो ।

    यस्तै आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    खत्रीटोलबाट पृथ्वीराजमार्गको मुख्यखण्डतर्फ आउँदै गरेको ग २६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्ताको ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङ रहेको प्रनाउ विकले बताए । दुर्घटनामा घाइते उनलाई आँबुखैरेनी अस्पताल पठाइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाको सहिद लखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय विप्लव गुरुङ गम्भीर घाइते भएका छन् । उनको आँखामाथि र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई चितवन मेडिकल कलेज पठाइएको छ ।

    यस्तै बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भिरबाट लडेर पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७३ वर्षीय खुदबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आफन्तको विवाहबाट घर फर्किने क्रममा शुक्रबार राति भिरबाट लडेर घाइते आलेलाई ऑबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ विकले बताए । निज भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसेका थिए । निजलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।

    यसैगरी व्यास नगरपालिका–१२ देउराली स्थित पृथ्वीराजमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा ७० प ४२९५ नम्बरको मोटरसाइकल चालक नियन्त्रण गुमाइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौ महानगरपालिका–१४ बस्ने २३ वर्षीय जेनिश मगर र सवार २४ वर्षीया आबिस्रा गुरुङ रहेको प्रहरीले जनाएको छ ।