


दमाैली, २६ असाेज । तनहुँ उद्योग वाणिज्य सङ्घले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएको जिल्ला प्रशासन कार्यालयका दुई कोठा मर्मत गरी हस्तान्तरण गरेको छ । सङ्घले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशासन कार्यालयका दुई कोठा मर्मत गरी आइतबार हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई चाबी हस्तान्तरण गरेका छन् ।
कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउन सङ्घले रु दुई लाख २० हजार खर्च गरी कोठा मर्मत गरेको सङ्घका अध्यक्ष मिश्रले बताए । उनका अनुसार सङ्घको सहयोगमा दुई कोठाका प्लाष्टर, भवनका झ्यालढोका, रङरोगन गर्ने काम भएको छ ।

जेनजी आन्दोलनको एक महिनासम्म सेवा प्रवाहमा कठिनाइ भएपछि जनतालाई सास्ती भएकाले सेवामा सहजता प्रदान गर्न राहदानी र राष्ट्रिय परिचयपत्रको कोठा मर्मत गरिएको मिश्रले बताए ।
उनले भने, “जनतालाई सहज रुपमा कसरी सेवा दिन सकिन्छ भनेर प्रजिअसँग छलफल गर्दा अहिलेको आवश्यकता दुई कोठा तत्कालै आवश्यक परेको भन्नुभएपछि दुई कोठा मर्मत गरी हस्तान्तरण गरेका हौ ।” विपद्का बेला सरकारको मात्रै मुख नताकी सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको मिश्रको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले जेनजी आन्दोलनपश्चात् कार्यालयमा भएको पूर्ण क्षतिका कारण सहज रुपमा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताए । उनले सङ्घले दुई कोठा मर्मत गरिदिएपछि राष्ट्रिय परिचयपत्र र राहदानीको काम सुरु गर्न सहज भएको बताए ।
जेनजी आन्दोलन भएको चौथो दिनबाट नागरिकताको काम सुरु गरेपनि राष्ट्रिय परिचयपत्रको कामका लागि उपकरण प्राप्त हुन ढिलाइ भएकाले आजदेखि उक्त सेवा सुरु गरिएको प्रजिअ अधिकारीले बताए ।
उनले भने, “राष्ट्रिय परिचयपत्रको सेवामा केही ढिलाइ भएको छ । उपकरण प्राप्त हुन ढिलाइ हुँदा यो सेवा सुरु गर्न सकेनौ । राष्ट्रिय परिचयपत्रका लागि दुई सेट उपकरण प्राप्त भएको छ । साविकमा पाँच वटा सेट उपलब्ध थियो ।”
यसअघि पाँच सेट उपकरण हुँदा धेरैलाई सेवा दिन सकिने अवस्था भएपनि अहिले दुई वटामात्रै हुँदा सेवामा केही कमी हुने प्रजिअ अधिकारीको भनाइ थियो ।
राहदानीको हकमा प्रिन्ट भएर आएका वितरण भइरहेको बताउँदै प्रजिअ अधिकारीले राहदानीको विवरण सङ्कलन गर्ने काम सुरु हुन अझै केही समय लाग्ने बताए । राहदानीका लागि उपकरण आउन बाँकी रहेको उनले बताए ।