म्याग्दे छिम्लेश्वाराका कृषकले एकैदिन ४६८ किलो सयपत्री विक्री गरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे छिम्लेश्वाराका कृषकले एकैदिन ४६८ किलो सयपत्री विक्री गरे

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८२, मंगलवार

    दमौली, ४ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल विक्री भएको छ ।

    यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल विक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल विक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए । उनले भने, “दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौ । एक ठाउँबाट एक सय र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल विक्री भएको छ ।”

    पहिलो वर्ष फूलखेती गरेका कृषक बजार पाएपछि खुसी छन् । अझैपनि फूलको माग आइरहेको तर आफूहरुसँग फूल नरहेको उनले बताए । उनले भने “पहिलो वर्षमै उत्पादन भएका सबै फूल विक्री हुँदा खुसी छौ । बजार पाउँदैन की भन्ने चिन्ता हट्यो ।” फुटकर रुपमा फूलको माग आएपनि फूल दिन सक्ने अवस्था नरहेको उनले बताए ।

    समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो की भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरेपनि बजार पाएपछि आफूहरुमा हौसला प्राप्त भएको बताइन् । पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उनको भनाइ छ ।

    फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भएपनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उनले बताइन् । उनका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजार भन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानी खेती गरिरहेका कृषकले यस वर्ष भने सयपत्री फूलखेती गरेको उनको भनाइ छ ।