


काठमाडौ, ५ कात्तिक । अमेरिकाबाट दशैं-तिहार मान्न स्वदेश आएका छोरा बुहारीलाई बुवाले खुकुरी प्रहार गरेका छन् ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- ५, थलीस्थित भीमबारी टोलमा बुधबार बिहान यस्तो घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा छोरा बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते भएका छन् ।
रुविसको बायाँ हातका चार औँला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।
आक्रमण गर्ने विष्णुलाई प्रहरी वृत्त बौद्ध मातहतको प्रहरी प्रभाग गोकर्णको हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी भट्टराईले दिए ।