आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८२, शनिबार

    दमाैली, ८ कात्तिक । आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यस वर्ष रु सात लाखको सयपत्री फूल विक्री गरेका छन् । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री विक्री गरेका हुन् ।

    गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल विक्री भएको समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । यसअवधिमा करिब दुई हजार किलो सयपत्री फूल विक्री भएको छ । प्रतिकिलो रु तीन सय ५० देखि रु चार सयसम्म फूल विक्री भएको उनले बताइन् ।

    फूल विक्रीका लागि बजारको समस्या नभएको बताउँदै गुरुङले यहाँ उत्पादित फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढसम्म पुगेको उल्लेख गरिन् । उनले भनिन्, “पहिलो र दोस्रो चरणको टिपाइबाट दुई हप्ताको अवधिमा रु सात लाख बराबरको फूल विक्री गर्न सफल भयौ । फूलले बजार पाउँदा झनै उत्साहित छौ ।”

    बारीमा अझैपनि सयपत्री फूल बाँकी रहेको र उक्त फूलहरु आँबुखैरेनीमा शनिबारदेखि एक सातासम्म हुने महायज्ञमा प्रयोग गरिने उनकाे भनाइ छ । उनले भनिन्, “तेस्रो र चौथो चरणको टिपाइ छिम्केश्वरी बुढीदेवी महायज्ञ र एकादशी पर्वका लागि विक्री गरिनेछ ।”

    पहिलो चरणको टिपाइबाट एक हजार फूलको माला बनाएर दश दिनसम्म चिस्यान केन्द्रमा राखी माग उच्च भएका बेला विक्री गरिएको थियो ।

    यहाँका महिलाहरु विगत तीन वर्षदेखि सयपत्री फूल खेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका महिलाहरुले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यो वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको अध्यक्ष गुरुङले बताइन् । समूहमा ४५ जना महिला आबद्ध छन् ।

    बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिलाहरु व्यावसायिक रुपमा फूलखेती लागिरहेको उनकाे भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले बताइन् ।

    गत वर्ष कतार समेत फूल निर्यात भएपनि यस वर्ष स्थानीय स्तरमै माग बढी भएकाले विदेश पठाउन नसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले समूहमा आबद्ध महिलाहरुलाई फूलखेतीका लागि आवश्यक सीप समेत सिकाएको उनकाे भनाइ छ । उनले भने, “फूल खेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरुलाई प्रदान गरिएको छ ।”