


दमौली, ८ कात्तिक । यहाँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा शनिबार बिहानैदेखि पूजाआजाका लागि भक्तजनको भीड लागेको हो ।
मन्दिरमा बिहान ५ बजेदेखि नै भक्तजनको आगमन भएको छाब्दी वाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । मन्दिरमा पूजाआजाका लागि देशका विभिन्न जिल्लाबाट भक्तजन यहाँ आइपुगेको उनले बताए । अन्य समयमा भन्दा शनिबार भक्तजनको अत्याधिक भीड हुने गरेको उनले जानकारी दिए ।
दसैं तिहारका बेला मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिर गत वर्षमात्रै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ ।
साउनको महिना पूरै र प्रत्येक महिनाको एक दिन औंसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।