अपाङ्गता भएका व्यक्ति अन्नपूर्ण प्रथम आधार शिविर पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अपाङ्गता भएका व्यक्ति अन्नपूर्ण प्रथम आधार शिविर पुगे

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८२, आईतवार

    दमौली, ९ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम आधार शिविरसम्मको पदयात्रा पूरा गरेका छन् । विभिन्न ठाउँका छ प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले आधार शिविरसम्मको पदयात्रा पूरा गरेका हुन् ।

    कात्तिक ५ गते म्याग्दीबाट त्यसतर्फ प्रस्थान गरेका उनीहरुले ३६ घण्टाको पैदलयात्रापश्चात् आधार शिविरको पदयात्रा पूरा गरेका हुन् । आधार शिविरसम्मको पदयात्रा निकै रोमाञ्चक भएको पदयात्रामा सहभागी शारीरिक अपाङ्गता भएका दमौलीका इश्वर बास्तोलाले बताए ।

    उनले भने, “हाम्रा लागि पदयात्रा चुनौतिपूर्ण थियो, तर हामीले उक्त पदयात्रा पूरा गरेर छाडेका छौ । यात्राका क्रममा निकै चुनौति पनि भयो, रोमाञ्चक पनि भयो । अपाङ्गता भएका व्यक्तिहरुले पदयात्रा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ ।”पदयात्रा पूरा गरेपछि सबैजना घर फर्किसकेका छन् ।

    पदयात्रामा बास्तोला सहित शारीरिक अपाङ्गता भएका चोमु शेर्पा खुसी, विशाल भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टि सम्बन्धी दृष्टिविहिनता अपाङ्गता भीम गुरुङ, सुनुवाइ सम्बन्धी बहिरा बासु थकाली र सहयोगीको रुपमा बन्दना राइ थिए ।

    अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश दिन पदयात्रा गरिएको बास्तोलाले बताए । उनले भने, “हरेक क्षेत्र अपाङ्गतामैत्री हुनुपर्छ, अपाङ्गता भएका व्यक्तिहरुले पनि पदयात्राका लागि सक्षम छन् भन्ने सन्देश दिन पदयात्रा गरेका हौ ।”

    ७५ वर्ष अघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोग सँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।

    अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

    अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ ।

    आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षणको केन्द्र बनेको छ ।