थानीमाइमा भित्रियो ८६ फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा भित्रियो ८६ फूलको डोली

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८२, मंगलवार

    दमौली, ११ कात्तिक । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा कात्तिकको दोस्रो मङ्गलबार आज ८६ फूलको डोली भित्रिएको छ । वर्षाका बाबजुत पनि मन्दिरमा उल्लेख्य फूलको डोली भित्रिएको थानीमाइ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    त्यसक्रममा विभिन्न जिल्लाबाट भक्तजन फूलको डोली लिएर आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । उनले भने, “फूलको डोली ल्याउन वर्षाले केही असहज बनायो, तैपनि उल्लेख्य मात्रामा भक्तजन आइपुग्नुभएको छ ।”

    थापाका अनुसार तनहुँबाट ३५, लमजुङबाट २४, गोरखाबाट १३, काठमाडौबाट उक, चितवनबाट आठ, कास्कीबाट चार, नवलपरासीबाट एक फूलको डोली भित्रिएको छ । त्यसक्रममा करिब आठ हजार भक्तजनले मन्दिरमा पूजाआजा गरेको थापाले बताए । त्यस्तै सोमबार राति सात सय २१ भक्तजनले जागाराम बसेका थिए ।

    कात्तिकको पहिलो मङ्गलबार औंसी परेका कारण फूलको डोली भित्रिएको थिएन । सोही कारण दोस्रो मङ्गलबार धेरै फूलको डोली आएको उनको भनाइ छ ।

    प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।