देउसीभैलोकाे रकमबाट विद्यार्थीलाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउसीभैलोकाे रकमबाट विद्यार्थीलाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८२, बुधबार

    दमाैली, १२ कात्तिक । सामाजिक अभियान्ता सुदीप गफ्फारले तिहारमा देउसीभैलो खेलेको रकमबाट विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण सुरु गरेका छन् । गफ्फारले पूर्व घोषित प्रतिबद्धता बमोजिम जिल्लास्थित विभिन्न विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न सुरु गरेका हुन् ।

    सो बमोजिम व्यास नगरपालिका–५ स्थित शुक्र आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई आज स्वीटर, मोजा र टोपी वितरण गरिएको छ । न्यानो अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडो महिनामा विद्यालय आउन सहज होस् भन्ने उद्धेश्यसहित सहयोग गरिएको गफ्फारले बताए । उनले भने, “जाडोमा विद्यार्थी काम्दै विद्यालय आउन नपरोस् भनेर हामीले न्यानो कपडा वितरण अभियान सुरु गरेका हौ ।”

    व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले सामाजिक अभियान्ता गफ्फारले सञ्चालन गरेका सामाजिक कामको सबैले अनुसरण गर्नुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक टीकाराम दाहालले न्यानो कपडाले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पुग्ने उल्लेख गरे ।

    गफ्फारले देउसीभैलो खेलेर रु ७३ हजार सङ्कलन गरिएको जानकारी दिए । अति आवश्यक भएका विद्यालय छनोट गरी न्यानो कपडा सहयोग गरिने उनले बताए ।

    सामाजिक काममा सक्रिय गफ्फारले राष्ट्रिय परिचयपत्र दर्ता गर्न आउने ज्येष्ठ नागरिकलाई एक महिनासम्म निःशुल्क खाना, बुल्दीचुँदी खोला सरसफाइ, बिरामीलाई अस्पतालसम्म आउन सवारी साधनको व्यवस्था लगायतका काम गर्दै आएका छन् ।