तनहुँमा दुर्घटना न्यूनीकरणका लागि साप्ताहिक सचेतना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुर्घटना न्यूनीकरणका लागि साप्ताहिक सचेतना सुरु

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८२, बुधबार

    दमाैली, १२ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले साप्ताहिक सचेतना कार्यक्रम सुरु गरेको छ । मुग्लिन कोत्रे सडकखण्ड चार लेनमा विस्तार भइरहेको र दुर्घटनाको जोखिम बढेकाले दुर्घटना न्यूनीकरणका लागि आजदेखि सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।

    सवारी दुर्घटनाको दरलाई कम गरी हुनसक्ने मानवीय एवं भौतिक क्षतिलाई न्यूनीकरण गर्न, आपराधिक क्रियाकलापको रोकथाम तथा गैर कानूनी अवैध ओसारपसार नियन्त्रण गर्नका लागि चार स्थानमा दैनिक सञ्चालन हुने गरी साप्ताहिक विशेष सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सुरु गरिएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

    उक्त अभियानमा सवारी चालक एवं सडक प्रयोगकर्तालाई सचेतना प्रदान गरिनेछ । यो कार्यक्रम पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, शुक्लागण्डकी नगरपालिका–२ कोत्रे, आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्र र लमजुङ बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका–१ भन्सार चोकमा सञ्चालन गरिनेछ ।

    त्यसक्रममा तीव्र गतिमा सवारी साधन नचलाउन, दुर्घटनाबाट सुरक्षित रहन, सडक स्तरोन्नति भइरहेकाले कतिपय स्थानहरुमा डिभाइडर राखी बाटो बन्द गरिएकाले गलत लेनबाट सवारी आउन सक्ने हुँदा सचेत भएर सवारी चलाउन आग्रह गरिनेछ ।

    त्यस्तै जेब्राक्रसमा सवारी साधनको गति कम गर्न, सङ्केत बोर्डहरुमा हेरी सवारी साधन चलाउन, मादक पदार्थ सेवन र लागुऔषध सेवन गरी सवारी साधन नचलाउन अनुरोध गरिने प्रनाउ विकले बताए।