थानीमाईमा कात्तिकको तेस्रो मंगलबार ५८ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाईमा कात्तिकको तेस्रो मंगलबार ५८ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०८२, मंगलवार

    दमौली, १८ कात्तिक । भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार आज ५८ फूलको डोली भित्रिएको छ । तनहुँ, लमजुङ, गोरखा, चितवन, काठमाडौ, पोखराबाट भक्तजनले ल्याएको फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    समितिका अध्यक्ष जीवन थापाले तनहुँबाट २४, लमजुङबाट ११, गोरखाबाट १०, चितवनबाट आठ, काठमाडौबाट दुई र पोखराबाट तीन डोली भित्रिएको जानकारी दिए ।

    त्यसक्रममा सात हजार पाँच सय ५७ जना भक्तजनले मन्दिरमा पूजाआजा गरेका छन् । हिजो सोमबार मन्दिर परिसरमा जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या पाँच सय ७१ जना रहेको थियो ।

    कात्तिकको दोस्रो मङ्गलबार गत हप्ता मन्दिरमा ८६ फूलको डोली भित्रिएको थियो । त्यसक्रममा तनहुँबाट ३५, लमजुङबाट २४, गोरखाबाट १३, काठमाडौबाट उक, चितवनबाट आठ, कास्कीबाट चार, नवलपरासीबाट एक फूलको डोली भित्रिएको थियो । सो अवसरमा करिब आठ हजार भक्तजनले मन्दिरमा पूजाआजा गरेका थिए ।

    कात्तिकको पहिलो मङ्गलबार औंसी परेका कारण फूलको डोली भित्रिएको थिएन । प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।