


दमाैली, १९ कात्तिक । प्रदेश अस्पताल दमौलीमा रगतको माग पूरा गर्न आज सदरमुकाम दमौलीमा रक्तदान कार्यक्रम गरिएको छ । तनहुँ युनेस्को क्लवले स्थापना दिवसको अवसर पारेर व्यास नगरपालिका–३ प्रशासनचोकमा रक्तदान कार्यक्रम गरेको हो ।
अस्पतालमा विभिन्न प्रकारका बिरामीलाई रगतको आवश्यकता भइरहने र अस्पतालमा रगतको अभाव भएकाले क्लवले स्थापना दिवसलाई सामाजिक कार्यसँग जोडेको क्लवका अध्यक्ष सरोज भण्डारीले जानकारी दिए । उनका अनुसार रक्तदानमा १९ पिन्ट रगत सङ्कलन भएको छ । भण्डारीले क्लवले शिक्षा, स्वास्थ्य, पुरातात्विक क्षेत्रको संरक्षणमा काम गर्ने उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले क्लवले रक्तदान कार्यक्रम आयोजना गरी पुण्यको काम गरेको बताए । उनले समाजमा गलत भाष्य निर्माण भइरहेको भन्दै त्यसलाई चिर्नेतर्फ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदान जस्तो पुण्यको काम अरु नहुने भन्दै रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नहुने धारणा राखे ।