


दमौली, ३ मङ्सिर । यहाँको आँबुखैरेनी गाउँपालिका–३ शिव मन्दिर परिसरमा बेबारिसे एक महिलालाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । आरती तामाङ नाम बताउने महिलालाई वडा सदस्य मनोजकुमार श्रेष्ठको सक्रियतामा उद्धार गरी मानव सेवा आश्रम लगिएको हो ।
केही समयदेखि बेबारिसे अवस्थामा बस्दै आउनुभएका ती महिलालाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको श्रेष्ठले जानकारी दिए। उनले भने, “दुई सातादेखि उहाँ यहाँ बस्दै आइरहनुभएको रहेछ, घर कता हो पनि थाहा छैन । बेबारिसे अवस्थामा रहेको थाहा पाएपछि उद्धार गरेका हौ ।”
उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी, वडा सदस्य शोभा विक लगायतले सहयोग पुर्याएका छन् ।
