अतिक्रममुक्त ५ रोपनी १० आना जग्गामा स्पोर्टस पार्क निर्माण सुरु : आज शिलान्यास सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अतिक्रममुक्त ५ रोपनी १० आना जग्गामा स्पोर्टस पार्क निर्माण सुरु : आज शिलान्यास सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८२, बुधबार

    काठमाडौ, ३ मङ्सिर। काठमाडौँँमा आज स्पोर्टस् पार्कको शिलान्यास गरिएको छ । व्यक्ति तथा संस्थाको प्रयोग भइरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।

    पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सीले, पार्क निर्माण कार्य पूर्वाधार मात्र नभइ सामाजिक क्रियाकलाप वढाउने माध्यम पनि भएको उल्लेख गरे ।

    पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आव्हानबाट १२ वटा कम्पनीले आवेदन दिएका थिए । यसमध्ये हान्स-चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ । पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपियाँ थियो । कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ लाख रुपियाँ हो ।

    निर्माण पक्षलाई कार्तिक १८ गते कार्यादेश दिइएको छ । निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ । पार्कभित्र खुला व्यायामशाला हुनेछ । १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ । 

    पार्कभित्र महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन गर्ने कक्ष हुनेछ । ३११ दशमलव ८९ वर्गमिटर क्षेत्रमा दुवो रोपेर हरियाली बनाइनेछ । 

    पार्कभित्र विभिन्न जातका १६३ वटा विरुवा रोपिनेछन् । यस्तै ३०० वटा मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ । यो पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयबासीलाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरुलाई खेल्ने ठाउँ हुनेछ । 

    महानगर प्रहरी बलले यस स्थानमा भएका संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गराएको हो । त्यस बेला यो ठाउँको भोगचलन गरिरेहकी पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गरेकी थिइन् ।