


दमाैली, ३ मङ्सिर । यहाँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ ७ः३० बजे भएको बोलेरो जीप दुर्घटनामा छ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । जीपमा ११ जना सवार थिए ।
घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ, इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको प्रनाउ विकले बताए ।
घाइतेमध्ये पुष्पलाल श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
चालक सहित अन्य पाँच जना यात्रु भने सकुशल छन् ।
