


दमाैली, ३ मङ्सिर । यहाँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ भएको बोलेरो जीप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते श्रेष्ठलाई आँबुखैरेनी अस्पतालका चिकित्सकले ८ः४५ बजेको समयमा मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनामा घाइते पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिदा दुर्घटना भएको थियो । जीपमा ११ जना सवार थिए ।
घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । चालक सहित अन्य पाँच जना यात्रु भने सकुशल छन् ।
