


काठमाडौ, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले अहिले चौथो शक्तिमा रहेको पार्टीलाई अब एक नम्बरको पार्टी बनाउने उद्घोषका साथ अघि बढेको बताएका हुन्।
विगतको स्मरण गर्दै वाग्लेले भने, ‘२०७९ सालको मंसिर ४ गते घण्टी बोकेर मत माग्दै गर्दा करिब १२ लाख मत ल्याउने गरेर रवि लामिछानेजीको आह्वानमा रास्वपा छोटो समयमा स्थापित भयो। उहाँहरूकै ताकतमा र उहाँहरूले चालेको त्यो प्रारम्भिक पाइलाकै जगमा आज रास्वपा यो उचाइमा आइपुगेको छ।’
उनले पार्टीको आगामी लक्ष्य प्रस्ट पार्दै भने, ‘फागुन २१ को अर्को आसन्न निर्वाचन हेर्दै गर्दा त्यसमा हामीले अब चौथो नम्बरबाट एक नम्बरकै पार्टी बन्ने उद्घोषका साथ हामीहरु अगाडि बढेका छौं।’