


काठमाडौ, ४ मंसिर । मुख्यसचिव एकनारायण अर्यालसँग उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछ गरेको छ । बिहीबार सिंहदरबार स्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले बताए ।
अर्यालले भदौ २४ मा जेनजी प्रदर्शन हुँदा आफू बालुवाटारमा रहेको बताएका छन् । आयोगका पदाधिकारीसँग उनले भनेका छन्, ‘म दिनभर बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थिएँ ।’
प्रदर्शन उग्र बनेपछि ओलीलाई बचाउन आफूले भूमिका खेलेको अर्यालले बताएका छन् । आयोगका सदस्य शर्मा भन्छन्, ‘उहाँले २४ गतेको आफ्नो अनुभव शेयर गर्नुभएको छ ।’
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ । असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।
