सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८२, शुक्रबार

    काठमाडौं, ५ मंसिर । ओपनर जस ब्रोनको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको हो ।

    सुदूरपश्चिमका ओपनर जस ब्रोनले सर्वाधिक ६५ रन बनाए । उनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । ब्रोनले पहिलो विकेटका निम्ति अर्का ओपनर विनोद भण्डारीसँग १०.४ ओभरमा १०८ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

    जारी एनपीएलमा पहिलो विकेटका निम्ति बनेको यो नै सबैभन्दा ठूलो शतक हो । ब्रोन र विनोदले यसअघि काठमाण्डूका आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको नाममा रहेको ७० रनको साझेदारीको कीर्तिमान तोडेका हुन् । यस्तै, प्रतियोगिताको यो दोस्रो शतकीय साझेदारीसमेत हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध नै दोस्रो विकेटका निम्त १३२ रनको शतकीय साझेदारी गरेका थिए ।

    सुदूरपश्चिमका विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन थपे । यसअघि पहिलो खेलमा यी दुवै ओपनर ‘डक’ भएका थिए । 

    यस्तै, अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिनले १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा एक चौका र एक छक्कासहित १५ रन बनाए । यसअघि काठमाण्डू गोर्खाजविरुद्ध ५३ रन बनाउँदै ‘प्लेयर अफ दी म्याच’ चुनिएका हर्मित सिंह आज भने चार रनमात्र बनाएर पभेलियन फर्किए । स्कट कुग्गेलिनले ६ बलमा एक छक्कासहित आठ रन बनाए । आरिफ सेख ‘डक’ भए । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे ।

    पोखराका जिम्मी निसमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका निसमले ४७ रन खर्चिए । डान डाउथवेट र आकाश चन्दले समान दुई विकेट लिए । 

    प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पोखराले यसअघि सम्पन्न पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।