पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८२, शनिबार

    पोखरा, ६ मंसिर । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।

    मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

    मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

    योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण÷आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए ।

    उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिए ।

    योजना प्रमुख कुँबरले पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेको जानकारी दिए ।

    मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

    यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

    देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ ।