पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि छनोट समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि छनोट समिति गठन

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८२, सोमबार

    दमौली, १५ मंसिर । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार’ २०८२ का लागि छनोट समिति गठन गरिएको छ ।

    रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सल्लाहकार समितिसहित आज बसेको बैठकले पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, र सल्लाहकार कृष्ण प्रसाद पौडेल ‘पिके’ रहेका छन् ।

    तनहुँ जिल्लाभित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरी तीन विधामा सम्मान गरिने सञ्चालक समितिका सचिव टिकाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिइनेछ ।

    रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केही रकम स्व. श्रेष्ठको परिवारबाट जम्मा गरी रु तनि लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही रकमको व्याजबाट प्राप्त आम्दानीले तीन विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित चौथो पटक आगामी पुस ७ गते पुरस्कृत गर्न लागिएको अध्यक्ष शिव पौडेलले जानकारी दिए ।

    शुक्लागण्डकी–२ भुजिकोटमा हुने रेडियोको दशौं वार्षिक साधारणसभाका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिने स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए ।

    पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद रु दश÷दश हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद रु पाँच हजार र प्रमाणपत्र रहेको छ ।

    स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले तीन विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको विसं २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

    तनहुँको दुलेगौंडाबाट प्रसारण भइरहेको रेडियो विसं २०७३ सालमा स्थापना भएको हो ।