


दमौली, १५ मंसिर । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरेको छ ।
यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्धेश्यसहित हिमालय आँखा अस्पतालसँग सोमबार सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।
