


दमौली, १५ मंसिर । व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयको वार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ । अतिरिक्त पाठ्यक्रम गतिविधि अन्तर्गत विद्यालयले सोमबारदेखि खुल्ला मैदानमा वार्षिक खेलकुद प्रतियोगिता सुरु गरेको हो । विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गराउँदै शारीरिक क्षमता वृद्धि गर्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
खेलकुद सहभागिताले शारीरिक तन्दुरुस्तीका आधारभूत कुराहरु, विभिन्न खेलहरुको प्राविधिक सुक्ष्मताहरु, रणनीतिक सोच र अनुशासनको महत्वपूर्ण मूल्य सिकाउन सहयोग गर्ने विद्यालयका प्रशासनिक निर्देशक सन्देशनारायण श्रेष्ठले जानकारी दिए ।
उनले भने, “खेलकुद प्रतियोगिताले व्यास नगरपालिका र तनहुँ जिल्लाको युवा र खेलकुद विकास रणनीतिहरुमा सक्रिय रुपमा योगदान पु¥याउन सहयोग पुग्नेछ ।”
प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, रिले दौड, कबड्डी लगायतमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थी सहभागी छन् ।
वाराहीले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । वाराहीले हाल एन्फा तनहुँ यु १४ फुटबल लिगमा प्रतिस्पर्धा गरेको छ भने प्रेसिडेन्शियल शिल्ड २०८२ मा चौथो स्थान हासिल गरेको छ । विसं २०८० सालमा सम्पन्न हैरान्स क्लव बास्केटबल प्रतियोगितामा वाराही उपविजेता बनेको थियो ।
त्यस्तै तनहुँ रेफ्री सङ्घले आयोजना गरेको विद्यालय स्तरीय फुटबल प्रतियोगिता र लायन्स क्लव विद्यालय स्तर टेबल टेनिस प्रतियोगितामा वाराहीले सहभागिता जनाएको छ ।
