


दमौली, ८ पुस । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा खुला जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले ‘भानु घाँसी ग्राम’ नामकरण गरी अगाडि बढाइएको छ ।
आदिवासी जनजातिको मात्रै संस्कार, संस्कृति नभई सम्पूर्ण जिल्लावासीको समुदायको जन्म, विवाह, मृत्युसम्मको संस्कारको पहिचान झल्कने गरी सङ्ग्रहालयमा प्रस्तुत गर्नसक्ने भानु घाँसी ग्राम निर्माण समिति संयोजक हरिसिं गुरुङले जानकारी दिए ।
“तीन प्रकारको सङ्ग्रहालयमध्ये तनहुँमा खुला जीवन्त सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । संस्कार, संस्कृति पुस्ता हस्तान्तरणको कार्यका निम्ति जीवन्त सङ्ग्रहालय आवश्यक छ”, उनले भने, “विभिन्न जातजातिको एकैठाउँमा संस्कार, कला, संस्कृति बुझाउनेछ ।”
अठ्ठाइसौँ कृष्ण द्व्रैपायनको अवतरण भूमि व्यास परासर क्षेत्र, ऐतिहासिक क्षेत्र तनहुँसुर र राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जीवन्त सङ्ग्रहालयमा समेटिने संयोजक गुरुङले बताए । सम्पूर्ण जातजातिको संस्कार, कला, संस्कृति पुस्ता हस्तान्तरणमा महत्वपूर्ण भूमिकामा सङ्ग्रहालयको रहने उनको भनाइ छ । सङ्ग्रहालय निर्माणसँगै गाउँ, बस्ती विस्तारका लागि विभिन्न समुदायको सहयोग रहनेगरी गुरुयोजना निर्माण गरिएको छ ।
आदिवासी जनजाति आयोगले ल्याएको अवधारणाअनुसार गण्डकी प्रदेशको तनहुँमा बनाउने तय भएको संयोजक गुरुङले जानकारी दिए । उनले भने, “जन्मँदा, मर्दापर्दा सबै संस्कार, कलासंस्कृति पुस्ता हस्तान्तरणमा सहयोग पुग्नेछ । जुन जातिको बस्ती जहाँ बाक्लो छ सोही बस्तीलाई विकास गरी गाउँ निर्माण गरिनेछ ।” करोडौँको खर्च लाग्ने भए पनि ४० प्रतिशत जातीय सङ्गठन रहेकाले सोमार्फत नै निर्माणमा सहयोग पुग्ने र बाँकी विभिन्न निकायको सहयोगमा निर्माण हुने संयोजक गुरुङले बताए ।
एक रोपनी नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको जग्गा रहेको र सोही जग्गासँग जोडिएको ऐलानी जग्गा लिएर खुला जीवन्त सङ्ग्रहालय निर्माण गरिने नेपाल आदिवासी जानजाति महासङ्घ तनहुँका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक सनम तामाङले जानकारी दिए । यही पुस २४ देखि माघ ५ गतेसम्म छैठौँ आदिवासी जनजाति महोत्सवबाट सङ्कलित रकममध्ये रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माणको शुभारम्भ गरिने उनले बताए ।
‘भाषा, लिपि, धर्म, संस्कृति, सभ्यताको जगेर्ना र हस्तान्तरणमा ऐक्यबद्धता ! खुला जीवन्त सांस्कृतिक सङ्ग्रहालय निर्माण पर्यटन विकासमा प्रतिबद्धता !’ नाराका साथ छैठौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव गर्न लागिएको हो । प्रविधिको युगमा चलेका पुस्तालाई मानिससँग सम्बन्धित सम्पूर्ण प्रचलन एकै स्थानमा आभास दिलाउने गरी महोत्सवको बचतबाट दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढेको महासङ्घले जनाएको छ ।
—