जनताको सुविधाका लागि म्याग्देमा घरदैलोमै व्यवसाय दर्ता तथा सूचिकृत अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताको सुविधाका लागि म्याग्देमा घरदैलोमै व्यवसाय दर्ता तथा सूचिकृत अभियान

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८२, बुधबार

    दमौली, ९ पुस । जनताको सुविधालाई ध्यानमा राख्दै म्याग्दे गाउँपालिकाले व्यवसाय दर्ता, नविकरण तथा सूचिकृत सेवा घरदैलोमै प्रदान गर्न थालेको छ। म्याग्दे गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको व्यवसाय दर्ता तथा सूचिकृत अभियानअन्तर्गत बुधबार म्याग्दे गाउँपालिका-६ मा सेवा प्रदान गरिएको हो।

    बुधबार मात्रै वडामा सञ्चालनमा रहेका ५५ जना व्यवसायीले व्यवसाय नविकरण तथा सूचिकृत गराएका छन्। वडाध्यक्ष हिरालाल गुरुङले घरआँगनमै सेवा पाउँदा व्यवसायीहरू खुसी भएको बताए। दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष गुरुङले व्यवसायलाई निरन्तरता दिँदै गाउँपालिकाको दिगो विकासमा योगदान गर्न आग्रह गरे ।

    गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्धेश्यले अभियानकै रूपमा व्यवसाय दर्ता तथा सूचिकृत कार्यक्रम सञ्चालन गरिएको म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए। पटक–पटक सूचना जारी गर्दा पनि दर्ता वा सूचिकृत हुन नआएपछि अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

    म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्यवसायीको हितका लागि गाउँपालिकासँग सहकार्य गरी दर्ता तथा नविकरण अभियान सञ्चालन गरिएको बताए । वडा स्तरमै होटल, किराना पसल, कृषि व्यवसाय, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्युटी पार्लर, सप्लायर्सलगायत विभिन्न व्यवसाय दर्ता तथा सूचिकृत गरिएको अधिकृत न्यौपानेले जानकारी दिए।

    अभियानका क्रममा व्यवसायीलाई सहज होस् भन्ने उद्धेश्यले फोटोकपीलगायतका सेवा निःशुल्क उपलब्ध गराइएको म्याग्दे उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताए। स्थानीय सरकारसँग प्रत्यक्ष सम्बन्धित उद्योग तथा व्यवसायलाई कानुनी दायरामा ल्याउन संघ सहयात्री बनेको अध्यक्ष अधिकारीले उल्लेख गरे ।

    यसअघि मङ्गलबार वडा नं. ३ मा सञ्चालन गरिएको अभियानको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गरेका थिए । आफ्नै घर–टोलमै सेवा पाएपछि व्यवसायीहरू उत्साहपूर्वक सहभागी भई कानुनी प्रक्रिया सम्बन्धी जानकारी लिएको म्याग्दे उद्योग वाणिज्य संघका महासचिव राजीव श्रेष्ठले जानकारी दिए।