


दमौली, १६ पुस । तनहुँको पर्यटकीय नगरी बन्दीपुर मंगलबार चुड्काको तालमा गुञ्जायमान बनेको छ। बन्दीपुर भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रस्तुत गरेका छन्।
बन्दीपुरको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक इतिहास संरक्षणका उद्देश्यले बृहत् चुड्का नाच आयोजना गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए । मौलिक जातीय पहिरनमा सजिएर एउटै मञ्चबाट यति ठूलो सङ्ख्यामा चुड्का नाचिएको यो पहिलोपटक भएको उनको दाबी छ।
कार्यक्रममा गुरुङ, मगर, कुमाल, दरै, ब्राह्मण, क्षेत्री, नेवारलगायत समुदायका सहभागीले आ–आफ्नो मौलिक वेषभूषामा चुड्का नाच प्रस्तुत गरेका थिए। “तनहुँ कला र संस्कृतिमा धनी जिल्ला हो। एकैपटक एक हजार जनाको सहभागिताले सम्पन्न यस कार्यक्रमले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको छ,” गुरुङले भने ।
बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रमका साथ मनाइँदैछ। पहिलो दिन चुड्का नाच प्रस्तुत गरिएको थियो भने पुस १६ गते औपचारिक रूपमा भ्रमण वर्षको समापन गरिने छ।
बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङका अनुसार भ्रमण वर्षले बन्दीपुरको पर्यटन विकासमा कोसेढुङ्गाको काम गरेको छ। उनले सन् २०२५ भरि विविध कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै सन् २०२६ का लागि विशेष कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच, पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सवसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ। पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित देखिएका छन्।
बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
