


काठमाडौ, १६ पुस। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र राजनीतिक विश्लेषक तथा नेता दीपकराज जोशीबीच काठमाडौंमा बुधबार भेटघाट भएको छ।
दुईबीच पार्टीभित्रको रणनीति र आगामी राजनीतिक दिशा, वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन, पार्टीको नेतृत्व सुधार, संगठन सुदृढीकरण र राष्ट्रिय हितसँग सम्बन्धित नीतिहरूमा कुराकानी भएको छ । त्यस अवसरमा कोइरालाले काँग्रेसलाई अझ सशक्त, पारदर्शी र लोकतान्त्रिक मार्गमा अघि बढाउने योजना र सम्भावनाहरूको चर्चा गरे ।
जोशीले कांग्रेसको वर्तमान चुनौती, पार्टी सुधारका आवश्यक पक्ष र दीर्घकालीन राष्ट्रिय हितको संरक्षणबारे आफ्नो विचार व्यक्त गरे। विशेषगरी उनले कांग्रेस बाहिर रहेका पूर्व सदस्य र सक्रिय राजनीतिक नेतृत्वलाई पुनः समाहित गर्ने तरिकाबारे पनि छलफल गरे। यसमा पार्टीको मूल्य, संगठनात्मक ढाँचा र नेतृत्वको समावेशी दृष्टिकोण प्रयोग गरेर सकारात्मक पुनःसमावेशनको नीति लागू गर्न सकिने उनले सुझाव प्रस्तुत गरे।