


काठमाडौँ, १६ पुस। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँ ले घटाइएको छ। साथै, एल.पी. ग्यासको मूल्य भने यथावत् राखिएको छ।
निगम सञ्चालक समितिको बुधबारकाे निर्णयअनुसार नयाँ खुद्रा बिक्री मूल्य बिहीबारदेखि लागु हुनेछ ।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेल १३८ रुपैयाँ ५० पैसा कायम गरिएको छ। दोस्रो वर्गमा पेट्रोल १५८ रुपैयाँ र डिजेल/मट्टितेल १४० रुपैयाँ, तेस्रो वर्गमा पेट्रोल १५९ रुपैयाँ र डिजेल/मट्टितेल १४१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धन काठमाडौँमा प्रतिलिटर १२८ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँ, पोखरा र भैरहवामा छुट्टाछुट्टै दर कायम गरिएको छ।
निगमले १५ किलोमिटरसम्मको ढुवानी खर्चका आधारमा मूल्य संरचना यथावत् राखिएको जनाएको छ। उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य समायोजन गरिएको निगमको भनाइ छ।