


दमौली, १७ पुस । व्यास नगरपालिका–१ अन्तर्गत बुल्दीपुलेदेखि भादगाउँसम्म जोड्ने सडक लामो समयदेखि खाल्डाखुल्डीका कारण जर्जर बन्दै गएको थियो । सडकको खराब अवस्थाका कारण दैनिक रूपमा सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै पैदलयात्री, विद्यार्थी, वृद्धवृद्धा तथा आपतकालीन सेवासमेत प्रभावित हुँदै आएका थिए ।
यही समस्यालाई मध्यनजर गर्दै सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्व तथा पहलमा स्थानीय युवाहरूले बिहीबार स्वस्फूर्त रूपमा सडक मर्मत कार्य गरेका छन् । युवाहरूले आफैं आवश्यक सामग्री जुटाई सडकका ठूला–साना खाल्डाखुल्डी पुर्ने, सम्याउने तथा जोखिमयुक्त स्थानमा अस्थायी सुधार गर्ने काम गरेका हुन् ।
स्थानीय बासिन्दाका अनुसार वर्षायाम तथा सवारी चापका कारण सडक थप बिग्रँदै जाँदा दुर्घटनाको जोखिम बढेको थियो । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि तत्काल सुधार नहुँदा बाध्य भएर युवाहरूले सामाजिक उत्तरदायित्वका रूपमा श्रमदान गरेका हुन् ।
सामाजिक अभियान्ता गफ्फारले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षित र सहज बनाउनु सबैको साझा दायित्व भएको बताउँदै सरकार र स्थानीय तहले स्थायी रूपमा सडक सुधार गर्नुपर्ने भए पनि तत्कालका लागि जोखिम कम गर्न युवाहरू एकजुट भएको बताए ।
युवाहरूको यस पहलले समुदायमा सकारात्मक सन्देश दिएको स्थानीयवासीले बताएका छन् । उनीहरूले यस्ता सामाजिक अभियानले आपसी सहकार्य र जिम्मेवारीबोध बढाउने उल्लेख गर्दै दीर्घकालीन र गुणस्तरीय सडक निर्माणका लागि व्यास नगरपालिकाले चाँडो योजना बनाएर कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन् ।