दमाैली बजार इकाइ सभापतिका उम्मेदवार श्रेष्ठ भन्छन् : व्यवसायीको समस्या समाधान मेरो जिम्मेवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमाैली बजार इकाइ सभापतिका उम्मेदवार श्रेष्ठ भन्छन् : व्यवसायीको समस्या समाधान मेरो जिम्मेवारी

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०८२, शनिबार

    दमौली, १९ पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाइको अधिवेशन पुस २३ गते हुने भएको छ । उक्त अधिवेशनमा हाल इकाइ उपसभापति रहेका शेषराज श्रेष्ठले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका श्रेष्ठले व्यवसायीको आवाजलाई एकीकृत गर्दै व्यवहारिक समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उम्मेदवारी घोषणासँगै श्रेष्ठले भने, “दमौली बजारका व्यवसायीले दैनिक रूपमा भोग्दै आएका कर, बजार व्यवस्थापन, सडक र पार्किङ समस्या, सुरक्षाको चुनौती, अनुगमनको नाममा हुने अनावश्यक झन्झट तथा नीतिगत अस्पष्टता जस्ता विषय मेरो प्राथमिकतामा रहनेछन् । व्यवसायीलाई पर्ने हरेक समस्या मेरो व्यक्तिगत समस्या हो भन्ने भावना लिएर म काम गर्नेछु।”

    उनले इकाइकाे नेतृत्वमा आएपछि स्थानीय सरकार, सुरक्षा निकाय, कर कार्यालय तथा अन्य सरोकारवाला संस्थासँग नियमित संवाद र सहकार्य गरी समस्या समाधानमा पहल गर्ने बताए । “संघ केवल कार्यक्रम गर्ने संस्था होइन, व्यवसायीका अधिकार र सम्मानको रक्षक हुनुपर्छ,” उनले भनेका छन् ।

    श्रेष्ठले दमौली बजारलाई व्यवस्थित र आकर्षक बनाउन दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै बजार सरसफाइ, ट्राफिक व्यवस्थापन, उपभोक्ता मैत्री वातावरण र डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय प्रवर्द्धन गर्न पहल गरिने बताए । साथै साना तथा मध्यम व्यवसायीको संरक्षण, नयाँ उद्यमीलाई प्रोत्साहन र संकटमा परेका व्यवसायीका लागि सहयोग संयन्त्र विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    “व्यवसायी बलियो भए मात्र बजार बलियो हुन्छ, र बजार बलियो भए मात्र स्थानीय अर्थतन्त्र मजबुत बन्छ,” श्रेष्ठले भने, “म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण व्यवसायीको साझा हितका लागि काम गर्नेछु।”