


दमाैली, २१ पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाइको अधिवेशन पुस २३ गते हुने भएको छ। अधिवेशनका क्रममा नयाँ नेतृत्व चयन गरिनेछ। यसका लागि सभापति पदमा तीन जना उम्मेदवार शेषराज श्रेष्ठ, अन्जु दाहाल र विन्दु श्रेष्ठले उम्मेदवारी घाेषणा गरेका छन् ।
हालका उपसभापति शेषराज श्रेष्ठले आफू लामो समयदेखि संघमा रहेर काम गरेको अनुभवका आधारमा उम्मेदवारी दिन लागेकाे बताएका छन् । उनले व्यवसायीका हकहित संरक्षण, कर तथा राजस्वसम्बन्धी समस्या समाधान, बजार व्यवस्थापन र स्थानीय सरकारसँग समन्वयलाई आफ्नो मुख्य प्राथमिकता बनाउने उल्लेख गरे ।

त्यस्तै, हाल सचिवको जिम्मेवारी सम्हाल्दै आएकी अन्जु दाहालले निरन्तरता, पारदर्शिता र समावेशी नेतृत्वका लागि उम्मेदवारी दिएको बताएकी छन्। उनले महिला व्यवसायीको सहभागिता र सशक्तीकरण, संघको आन्तरिक व्यवस्थापन सुधार तथा व्यवसायी–मैत्री वातावरण निर्माणमा जोड दिने बताइन् ।
यसैगरी, अघिल्लो निर्वाचनमा सभापति पदमा पराजित विन्दु श्रेष्ठले यसपटक अनुभव र सिकाइका साथ पुनः उम्मेदवारी दिएको बताएका छन् ।
