


गैंडाकोट, २१ पुस । चौथो गैंडाकोट महोत्सव–२०८२ को तयारी तीव्र गतिमा अगाडि बढेको छ। गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारको प्रदर्शनी स्थलमा सञ्चालन हुने महोत्सवको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तिब्रता दिएका हुन्।
आयोजकका अनुसार हालसम्म करिब ८० प्रतिशत तयारी पूरा भइसकेको छ। महोत्सवको मुख्य गेट, विभिन्न स्टल, रमाइलो मेला, प्रदर्शनी स्थल, जलपरी तथा ओपेरा हाउस निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।
महोत्सव यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। “आफ्नै गौरव, आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवको उद्देश्य गैंडाकोटमा उत्पादित कृषि उपजको बजारीकरण, व्यापार प्रवर्द्धन, स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने, साथै स्थानीय संस्कृति संरक्षण, सम्बर्द्धन र गैंडाकोटका धार्मिक स्थलहरूको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्नु रहेको महोत्सव आयोजक समिति संयोजक छबिलाल कँडेलले जानकारी दिए।
आयोजकका अनुसार प्रदर्शनीमा बंगलादेशको ढाका कपडा, पाकिस्तानी छालाजन्य सामग्री तथा भारतीय गार्मेन्ट, भाँडाकुँडा र कपडाका लागि स्टल बुकिङ भइसकेको छ। स्थानीय कृषि उपजको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले १०० वटा स्टल निःशुल्क व्यवस्था गरिएको छ। महोत्सव स्थलमा जम्मा २५० देखि ३०० वटा स्टल रहनेछन्।
महोत्सवका प्रमुख आकर्षणहरूमा जलपरी, ओपेरा हाउस तथा भजन प्रतियोगिता रहेका छन्। मेला, महोत्सव तथा प्रदर्शनीमार्फत देशको आर्थिक चलायमानता बढाउने र राष्ट्रलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सूचना तथा सञ्चार संयोजक शालिकराम सापकोटाले बताए।
महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ, जसबाट दर्शकहरूले भरपूर मनोरञ्जन लिने अपेक्षा गरिएको छ। साथै स्थानीय स्तरमा भजन प्रतियोगिता आयोजना गरिने सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए।
आयोजकका अनुसार महोत्सवबाट फाइदा भएको खण्डमा गैंडाकोट उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा करिब ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
महोत्सवको आयोजक गैंडाकोट उद्योग वाणिज्य संघ रहेको छ भने गैंडाकोट नगरपालिका सह–आयोजक रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र गण्डकी प्रदेश उद्योग वाणिज्य संघ संरक्षकका रूपमा रहेका छन्। नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवर्द्धक रहेको छ।