आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमौली, २२ पुस । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।

    व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । उनका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ ।

    जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहे पनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उनले बताए ।

    अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् । यसले नयाँ पुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

    छैटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

    आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पुर्‍याउन महोत्सव महत्त्वपूर्ण हुने विश्वास छ ।”